मोरङ : मोरङको रतुवामाईमा अंश विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। रतुवामाई नगरपालिका–६ निवासी ६९ वर्षीय टंकबहादुर बस्नेतले आफ्नै भाउजू टीकामाया कार्की बस्नेतको हत्या गरेका हुन्।
मृतक टीकामाया बोल्न नसक्ने, इसाराले मात्र कुरा गर्न सक्ने शारीरिक रूपमा अशक्त महिला थिइन्। असार २१ गते दिउँसो आफ्नै बारीमा घाँस काट्न गएकी टीकामायाको शव फेला परेको थियो।
उनको टाउकोको घुच्चुकको दायाँ भागमा गम्भीर चोट लागेको देखिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा गरिएको थियो। चिकित्सकले शरीरमा देखिएको चोटका कारण उनको मृत्यु भएको निष्कर्ष दिएपछि प्रहरीको अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अंश विवादले हत्या भएको हो।
अनुसन्धानका क्रममा मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच पुर्खौली सम्पत्तिको अंश विवाद रहेको पत्ता लागेको छ।
दुवैका आमाहरू फरक–फरक हुन्। जेठी आमाका छोरा गणेशले पनि अंश पाउने अदालतको फैसला पछि कान्छी आमा पक्षका टंक क्रोधित भएको प्रहरीको भनाइ छ।
अदालतको फैसलाअनुसार सम्पत्ति बाँडफाँट गर्नुपर्ने बाध्यताले टंक झन् आक्रोशित बनेको र त्यसको झोकमा उनले भाउजूको हत्या गरेका हुन्।
‘भाइले जग्गाजमिन एकलौटी गर्न खोज्दा दाजु गणेश अदालत पुगेका रहेछन्। अदालतले अंश बाँडफाँट गर्नुपर्ने निर्णय गरेपछि घरायसी तनाव झन् बढेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही रिसमा उनले शारीरिक रूपमा कमजोर, बोली नसक्ने भाउजूलाई लक्षित गरे।’
डीएसपी चुँडालका अनुसार टंकले हँसियाको बिँडले प्रहार गरी टीकामायाको हत्या गरेका हुन्। उनले घाँस काट्न गएकी टीकामायाको टाउकोमा प्रहार गरी घटनास्थलमै हत्या गरेपछि शव त्यहीँ फालेका थिए।
उनलाई घटनाको दुई दिनपछि सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो। घटनामा प्रयोग गरिएको हँसिया पनि टंककै घरबाट प्रहरीले बरामद गरेको छ।
टंकबहादुरविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post