इटहरी : इटहरी उपमहानगरपालिका २ मा डुबेर दुई जना बालकको निधन भएको छ ।
आइतबार (आज) इटहरी २ स्थित माया घर छेउ, सुकल्प भवन नजिकै रहेको खोलाको दहमा डुबेर दुई जना बालकको निधन भएको हो ।
उक्त भवन छेउ नयाँ पुल बनेको छ । सोही पुलमुनि रहेको टेङ्ग्रा खोलामा दिउँसो २ः५० बजेतिर डुबिरहेको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
तत्कालै खटिएको प्रहरीसहित स्थानीयले घटनास्थलबाट दुवै बालकलाई उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पतालमा पठाइएको थियो ।
तर, उपचारका क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुनेमा ११ वर्षीय क्रिवास लिम्बू र इटहरी ३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।
संखुवासभाको चैनपुर १ घर भएका लिम्बू इटहरी २ स्थित सानिमाको घरमा बसेर अध्यापन गर्दै आएका थिए ।
इटहरी २ का वडाध्यक्ष माधव कोइरालाले भने, ‘हामी अहिले घटनास्थलमै छौँ । घटना कसरी भयो भन्नेबारे शंका उत्पन्न भएको छ ।’
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले खोलामा पौडी खेल्ने क्रममा घाइते भएपछि प्रहरीले उद्धार गरी तत्काल अस्पताल पठाएपनि उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
‘पौडी खेल्ने क्रममा घाइते भएको जानकारी आएपछि प्रहरीले उद्धार गरी उपचारका लागि पठाएपनि अस्पतालले मृत्यु भएको जानकारी दियो,’ उनले फोन सम्पर्कमा भने ।
दुवैजना बालकलाई विराट टिचिङ अस्पतालले दिउँसो ४ बजेतिर मृत्यु भएको पुष्टि गरेको डीएसपी भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post