इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।
दुवै जनाले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहससाथ कर्तव्य निर्वाह गरेको आधारमा प्रदेश प्रहरीले उनीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप उक्त घोषणा गरेको हो।
प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको उल्लेख गरिएको छ ।
भद्रपुर नगरपालिका–५ मा चेकजाँचका क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर, एउटा गाडी र एक व्यक्तिलाई नियन्त्रणमा लिएका थिए।
त्यस्तै, भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली चलाउँदै २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।
त्यसैगरी, झापा गाउँपालिका–४ स्थित चेकजाँचका क्रममा साइकलको चक्काभित्र लुकाइएको १६७ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गर्न सफल भएका थिए।
प्रहरी नायव निरीक्षक अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक प्रतिवादीलाई सोही दिन पक्राउ गर्न सफल भएका थिए।
त्यसैगरी, कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका र अन्य २१ जना फरार प्रतिवादीहरूलाईसमेत पक्राउ गरेको उल्लेख गरिएको छ ।
साथै, उनले लागूऔषध दुर्व्यसन नियन्त्रणमासमेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।














Discussion about this post