विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत बन्ने प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेश पढ्न जाने युवालाई रोक्नका लागि विश्वविद्यालयहरू विशेषगरी पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिए।
“हाम्रो देशमै रहेको संरचनालाई सुधार गर्दै कम लागतमा गुणस्तरीय अध्ययनको अवसर सिर्जना गर्न सकिन्छ,” मुख्यमन्त्री कार्कीले भने, “यसले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षण गर्न सक्छ।”
उनले नेपालमै विदेशी विद्यार्थी ल्याएर अध्ययन गराउन सके देशको आर्थिक समृद्धि र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने धारणा राखे।
विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाका अनुसार उक्त अस्पताल पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै स्रोतमा निर्माण सुरु गरिएको हो।
हाल पहिलो चरणमा १२ करोड ४ लाख रुपैयाँको लागतमा अस्पताल निर्माण कार्य सुरु गरिएको छ। २०८३ सालको पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थपलियाले जानकारी दिए।
अस्पताल पूर्ण रूपमा निर्माण गर्न कुल ४३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि बाँकी संरचनाहरू थप निर्माण गरिनेछ।
विश्वविद्यालयले शिक्षण अस्पतालको स्तर उन्नति गर्न लक्ष्यसहित प्रसूति तथा बालरोग अस्पताल निर्माण गर्न लागेको हो।












Discussion about this post