इटहरी : सुनसरीको रामधुनी नगरपालिका–३ निवासी ४० वर्षीय रमेन्द्र पौडेलले एक योजनाबद्ध विश्वास-निर्माण शैलीमार्फत व्यवसायी, प्रहरी र सर्वसाधारणलाई करोडौं रुपैयाँ ठगी गरेका छन्।
निर्माण सामाग्री खरिदको नाममा र निर्माणको सामाग्री बाँकी किनेर फरार भएका पौडेलको खोजीका लागि प्रहरी र प्रशासन सक्रिय देखिए पनि उनी अझैसम्म पक्राउ परेका छैनन्।
नेपाल प्रहरीमा कार्यरत कर्मचारीदेखि स्थानीय हार्डवेयर व्यवसायीसम्मलाई सापटी वा भुक्तानीको नाममा रकम लिई फरार भएका पौडेल एक वर्षभन्दा लामो समयदेखि सम्पर्कविहीन छन्। उनीविरुद्ध प्रमाणसहित उजुरी परेपनि पक्राउ नपरेको पीडितहरूले जनाएका छन्।
पौडेलले विराटनगरका व्यवसायी टेकनाथ ढकालसँग एक करोड भन्दा बढीको सामान लगेको र अन्य सापटी लगेपनि फिर्ता गरेका छैनन् । २०७८ देखि २०७९ सम्म विभिन्न मितिमा दिइएका चारवटा चेकमध्ये दुईवटा रमा ढकाल (ढकालकी पत्नी) र दुईवटा एभरेष्ट केमिकल ट्रेडर्सको नाममा जारी भए पनि चेक सबै बाउन्स भएका छन्।
ढकाललाई एक करोड ३४ लाखभन्दा बढीको झूटो चेक दिएपछि आफू पीडामा रहेको ढकालले बताए।
ढकालका अनुसार पौडेलले सुरुवातमा सानो सामान किनेर समयमै भुक्तानी गरेर विश्वास जिते। त्यसपछि भने ठूलो परिमाणमा सामाग्री उठाएर पैसा नतिरी फरार भएका छन्। ‘पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन रहेका उनले फोन पनि स्वीच अफ गरेका छन्। सुरुमा त राम्रै व्यवहार भयो । पछि धम्की र छलकपट सुरु भयो,’ ढकालले भने।
मोरङ जिल्ला प्रशासन कार्यालयले पौडेललाई उपस्थित गराउन पत्रसमेत पठाएको छ। तर, प्रशासनिक पत्राचारपछि पनि कारवाही अगाडि बढ्न सकेको छैन। ढकालले उनी राजनीतिक संरक्षणमा काठमाडौँ भागेको दाबी गरेका छन्।
ढकालका अनुसार पौडेलले आफ्नो कम्पनी आधारशिला सप्लायर्सबाट पहिलोपटक २०७८ साउन २५ गतेको मितिमा २६ लाख ४३ हजार पाँच सय रुपैयाँ, ०७८ माघ २ गतेको मितिमा ३० लाख रुपैयाँ, ०७८ चैत १ गतेको मितिमा ४० लाख रुपैयाँ र ०७९ वैशाख ५ गतेको मितिमा ३८ लाख १५ हजार रुपैयाँ गरी एक करोड ३४ लाख ५८ हजार रुपैयाँको चेक दिएपनि साटिएको छैन ।
ढकालले भने, ‘सुरु–सुरुमा थोरै सामान लैजाने र तत्कालै पैसा तिरिहाल्ने पछि भने धेरै सामान लैजाने र पैसा दिइहाल्छु भनेर ठगी गरे ।’
ढकाललाई एक करोड ७५ लाख रुपैयाँ पौडेलले बुझाउनुपर्ने छ । ‘अरू सामानको पैसा बाँकी नै छ । विभिन्न मितिमा ५ लाख, १० लाख गर्दै नगद नै लगेको छ,’ ढकालले राजधानीसँग भने, ‘२०७५ सालदेखि नै कारोबार गरेको हो । सुरुमा सामान लैजाने, पेमेन्ट पनि तत्कालै दिने गरेको थियो । पछि ठूलो कारोबार गर्दै जाँदा म विश्वासमा फसेँ ।’
पौडेलविरुद्ध कानुनी प्रक्रिया अघि बढेको छ। इटहरीका व्यवसायी गोपालकृष्ण श्रेष्ठले २०८१ साल भदौमा अदालतमा मुद्दा दायर गरेका थिए।
चेक बाउन्स भएको उजुरीको सन्दर्भमा जिल्ला अदालत सुनसरीका न्यायाधीश इन्द्रकुमार खड्काको इजलासले पौडेललाई बाउन्स चेकको रकम भुक्तानी गर्न आदेश दिइसकेको छ। तर उनी अझै फरार छन्।
श्रेष्ठका अनुसार पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नाममा दुई लाख २० हजारको चेक दिए। तर, त्यो पनि बाउन्स भयो। उनले भने, ‘चेक दिइयो, तर पटकपटक बैंकमा धाउनुपर्यो। खातामा पैसा पुग्दैन भनेर फर्काइयो।’
पौडेलको नाममा सञ्चालित ‘आधारशिला सप्लायर्स’ कम्पनी अहिले बैंकिङ कसुरमा कालोसूचीमा परिसकेको छ।
पौडेलले नेपाल प्रहरीका एक कर्मचारीलाई समेत ठगी गरेका छन्। चिनजानको भरमा पौडेलले ती प्रहरीसँग तीन लाखभन्दा बढी सापटी लिएका थिए। तर, अहिले सम्पर्कविहीन भएपछि ती प्रहरी आफैं मानसिक तनावमा परेका छन्।
‘मैले पनि अरूको विश्वासमा परेर उसलाई सहयोग गरेँ, तर ठगिएँ,’ उनले भने।
पौडेलको योजनाबद्ध तरिकाले विश्वास जित्ने र त्यसपछि ठूलो परिमाणमा रकम असुली गरेर बेपत्ता हुने शैलीले उनीविरुद्धको ठगीमा नियत स्पष्ट देखिन्छ। एक पीडितका अनुसार पौडेल आफैं नआएर अहिले अरूलाई प्रयोग गरेर घरमै गएर धम्की दिने अवस्था आएको छ।
पौडेलबाट ठगिएका व्यापारीहरू अहिले सामूहिक रूपमा उजुरीको तयारीमा छन्। रामधुनी, इटहरी र विराटनगर क्षेत्रका व्यवसायीहरू, सर्वसाधारण र प्रहरी समेत ठगीमा परेपछि उनीहरूले ठगीको जालो काट्न पौडेललाई तुरुन्त पक्राउ गर्नुपर्ने माग राखेका छन्।
‘ठेक्का परेको छ केही दिनका लागि सामान किन्न पैसा आवश्यक पर्यो भन्दै सापटी लिए,’ ती प्रहरीले भने, ‘तर पैसा सापट लगेको वर्षौँ भएपनि उनी सम्पर्कमा छैनन् ।’
पौडेलले आफ्ना ज्वाइँलाई प्रयोग गर्दै कुरा गराउने गरेको र पैसा दिइहाल्ने बताएपनि उनी फरार भएपछि समस्या भएको उनले सुनाए ।
‘चिनजानकै भएका कारण मैले पनि सापटी रकम नै खोजेर दिएँ,’ उनले भने, ‘तर कसैलाई विश्वास गर्न नहुने रहेछ । अरू मानिसलाई ठगीमा पर्नुहुँदैन भन्दै सचेतना दिँदै हिँडेपनि आफैँ ठगिएँ ।’
पौडेलले खासगरी सिचाइँको ठेक्कापट्टा गर्दै आएका थिए । रमेन्द्रकै कम्पनीमा काम गरेका एक कर्मचारीकाअनुसार अहिले रमेन्द्रले अरू मानिस प्रयोग गरी घरमै गएर धम्की दिँदै आएका छन् ।
‘समितिको काम गरेबापत मुद्दा मिलाउन भन्दै घरमै गएर अन्य मानिसहरूले धम्की दिइरहेका छन्,’ रमेन्द्रबाटै पीडित रहेका ती कर्मचारीले भने, ‘रमेन्द्र आफू यहाँ नभएपनि अरूहरूलाई प्रयोग गरेर घरमै गएर धम्की दिने गरेपछि थप त्रास भएको छ ।’
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले भने, ‘हामीकहाँ अहिलेसम्म लिखित उजुरी आएको जानकारी छैन। उजुरी आएपछि अनुसन्धान अगाडि बढाउँछौं।’














Discussion about this post