धरान : धरान उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधिकारिक प्रथम सेवा केन्द्रको रूपमा कायम गर्न स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूले उपमहानगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन्।
स्थानीय तहमा क्रियाशील प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, समाजवादी पार्टीलगायतका दल र तिनीहरूका भ्रातृ संगठनहरूको संयुक्त दस्तखतसहित बुझाइएको ज्ञापन–पत्रमा बीपी प्रतिष्ठानलाई प्राथमिक उपचारका लागि सर्वप्रथम सेवा दिने अस्पतालका रूपमा घोषणा गर्न माग गरिएको छ।
नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)समक्ष बुझाइएको ज्ञापनमा भनिएको छ, “२०८२ साउन १ गतेदेखि धरानवासीको प्रथम सेवा विन्दु कुन संस्थाबाट जाने भन्ने विषयमा अन्योल रहेको छ । यस विषयमा धरान उपमहानगरपालिकाले आवश्यक निर्णय गरी सार्वजनिकरूपमा स्पष्ट गर्न जरूरी देखिएको छ ।”
ज्ञापनमा बीपी प्रतिष्ठानलाई स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने आधारका रूपमा औपचारिक मान्यता दिनुपर्ने उल्लेख छ।
साथै, प्राथमिक उपचारका सन्दर्भमा प्रतिष्ठानलाई ‘प्रथम सेवा केन्द्र’ बनाउने नीतिगत निर्णयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरिएको छ।














Discussion about this post