नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुलाई सहयोग गरेको छ ।
खाद्यान्न अभावमा रहेका सुनसरीका सक्रिय सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग गरिएको फुड बैँकका संयोजक कृष्ण अधिकारीले बताए ।
उनका अनुसार सुनसरीका विभिन्न क्षेत्रमा रहेर सञ्चारकर्म गर्दै आएका तर लकडाउनले गर्दा खाद्यान्न अभावमा रहेका पत्रकारहरुका लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गरिएको थियो ।
एक बोरा चामल, दुई किलो नुन, दुई किलो चिनी, दुई किलो दाल, दुई किलो न्यूटला लगायतका खाद्यान्न वितरण गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।
उनका अनुसार खाद्यान्न अभावमा कोही पनि पत्रकार भोको बस्न नदिनका लागि प्रेस युनियनले फुड बैँकको स्थापना गरेको थियो । अभावमा नरहेका पत्रकारहरुबाट सहयोग उठाएर अभावमा रहेका पत्रकारहरुलाई खाद्यान्न दिईएको थियो ।
जिल्लाका ५३ जना सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरिएको थियो ।
पहिलो चरणको सहयोग सकिएको र आवश्यक परेको खण्डमा कार्यसमितिको बैठक बसेर चाँडै नै दोस्रो चरणको लागि पनि फुड बैँक अभियान सञ्चालन गरिने बताईएको छ ।
अहिले लकडाउनका कारण मिडिया हाउसहरुले धमाधम सञ्चारकर्मीलाई निकाल्ने, बेतलबी बिदा दिने जस्ता समस्याले पत्रकारहरु ग्रसित रहेकाले खाद्यान्न अभावको समस्या चिर्नका लागि उक्त अभियान सञ्चालन गरिएको थियो ।
Discussion about this post