विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा आ.व. २०८२।०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीबीच भएको सम्झौताअनुसार, प्रदेश प्रहरी प्रमुख कार्की, कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी तथा नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रमुखहरूले वार्षिक लक्ष्य, कार्ययोजना र उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्। साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन जोड दिएका छन्।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र, कोशी प्रदेश सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका प्रहरी प्रमुखहरू प्रत्यक्ष सहभागी भए भने अन्य जिल्ला प्रहरी प्रमुखहरूले भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा उपस्थित प्रहरी प्रमुखहरूलाई सम्बोधन गर्दै प्रहरी सेवालाई चुस्त(दुरुस्त बनाउन, योजनाहरू समयमै कार्यान्वयन गर्न तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न यो सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले सम्झौता सफल कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले सक्रियताका साथ सम्झौतामा उल्लिखित बुँदाअनुसार कार्य सम्पादन गर्न निर्देशन दिए।
यस सम्झौता बमोजिम कार्यालय प्रमुखहरूले गरेका कार्यहरूको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ।














Discussion about this post