इटहरी : पछिल्ला १५ दिनमै चार जना कैदीले ज्यान गुमाएपछि सुनसरीको झुम्का कारागारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्थलगत जाँच गर्दा कैदीहरूमा देखिएको समस्या ‘भाइरल’ संक्रमणसँग सम्बन्धित रहेको पुष्टि भएको छ।
भदौ १८ गते बेलुकी करिब सय जना कैदीमा एकैपटक ज्वरो, जिउ दुख्ने, नाक बन्द हुने र श्वास फेर्न गाह्रो हुने लक्षणसहित बिरामी परेपछि नौ सदस्यीय चिकित्सक टोली कारागार पुगेको थियो।
त्यतिबेला करिब एक सय जनामा उच्च ज्वरो भेटिएको थियो। परीक्षणमा दुई जनामा मलेरिया पोजिटिभ र एक जनामा डेंगु पोजिटिभ देखिएको छ।
गम्भीर अवस्थामा रहेका १२ कैदीलाई राति नै धरानस्थित प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ। थप पाँच बिरामी अर्को दिन ल्याइएका थिए। हालसम्म सबैको अवस्था सामान्य राखिएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारका अनुसार स्थलगत रूपमा गरिएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका एक हजार सात सय ९३ जना कैदीमध्ये तीन सय ५३ जनाको जाँच गरिएको थियो।
तत्काल परीक्षणमा करिब एक सय जनामा उच्च ज्वरो देखिएको र ३५ जनाको मलेरिया परीक्षण गर्दा दुई जनामा पोजिटिभ देखिएको उनले बताए ।
‘स्वास्थ्य टोलीले गम्भीर अवस्थामा रहेका १२ कैदीलाई सोही राति नै प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएर उपचार गरेको छ,’ सहप्रवक्ता डा. कुमारले भने, ‘बिहीवार पनि थप पाँच जना बिरामी ल्याइएको छ। हालसम्म सबैको अवस्था सामान्य रहेको छ।’
मृत्यु भएका कैदीमध्ये भोजपुरका २८ वर्षीय विकास राई, सुनसरी गढी–६ का ४८ वर्षीय रामदेव उराँव, धरान–१० का २४ वर्षीय सागर राई र सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव रहेका छन्।
प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. रविन मास्केले पछिल्लो समय ‘भाइरल इन्फेक्सन’ बढेको बताए। उनले कैदीहरूको मृत्युको कारण पनि यही भएको पुष्टि गरे। उनले सर्वसाधारणलाई समेत आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।
विश्व स्वास्थ्य संगठनको विपद् उद्धार टोलीले समेत कारागार र अस्पतालमा नमुना संकलन गरेर थप परीक्षण गर्ने तयारी गरेको छ।












Discussion about this post