विराटनगर : विराटनगरलगायत मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेका प्रदर्शन, आन्दोलन र सम्भावित अशान्ति रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार बिहानदेखि कर्फ्यु आदेश जारी छ।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्म कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको छ। तर सर्वसाधारणले आवतजावत र सवारीसाधन सञ्चालन भने गर्न पाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
प्रदर्शन तथा आन्दोलनका क्रममा हिंसात्मक गतिविधि, हुलदंगा र अशान्ति भइपर्ने आशंका रहेको भन्दै कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोक, उत्तरमा रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म कर्फ्यु लगाएको छ ।
यस्तै, उत्तरमा शनिहाटदेखि दक्षिणमा टेलिकम मोड, पश्चिममा गोल्छा आँखा अस्पतालसम्म, पूर्वमा शनिहाट चोकदेखि उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोकसम्म, पूर्वमा नहर क्षेत्रदेखि पश्चिममा कोशी राजमार्गसम्म, उत्तरमा मदननगरदेखि दक्षिणमा मानगढ खानेपानीसम्म, पश्चिमतर्फ नहर आसपासको तीन सय मिटर, एकीकृत भन्सार जाँच चौकी क्षेत्रमा कर्फ्यु लगाइएको छ ।



















Discussion about this post