विराटनगर : संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यक्रम सम्पन्न भएको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।
कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ रहेको बताए ।
यसैबीच कार्कीले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै जेन जी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत श्रद्धाञ्जली दिए ।
कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्दै उनले सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताए ।
संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उनले बताए ।
मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।














Discussion about this post