इटहरी : केही समयदेखि बन्द रहेका सुनसरी जिल्ला अदालतका नियमित कामकारवाहीहरू आइतवारदेखि पुनः सुरु हुने भएका छन्।
जेनजी आन्दोलन(२४ भदौ)का कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।
यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भरसमेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले अदालतले तत्कालका लागि म्यानुअल प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो।
अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइनेछ।
सुनसरी अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्गले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२।६।२३ गतेको निर्णय बमोजिम अदालतले सेवा प्रवाहका लागि आवश्यक तयारी पूरा गरेको छ। सर्वोच्च अदालतबाट सर्भर सञ्चालनमा आउन केही समय लाग्ने भएकाले असोज २६ गतेदेखि म्यानुअल रूपमा पेशी सूची प्रकाशन गरिनेछ र मुद्दाको सुनुवाइ नियमित रूपमा सञ्चालन हुनेछ।”
अदालतको सेवाहरू लामो समयदेखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए। नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए।
अब अदालतले म्यानुअल प्रणाली अपनाएसँगै मुद्दा सम्बन्धी सुनुवाइ र निर्णय पुनः सुचारु हुने भएपछि न्याय माग्दै आएका सेवाग्राहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। सर्भर पुनः सञ्चालनमा आएपछि सबै कार्यहरू पुनः डिजिटल प्रणालीमै फर्काइने अदालतले जनाएको छ।
यसैबीच, अदालतले सम्बन्धित सबै पक्षहरूलाई सूचित गर्दै भनेको छ, “न्यायिक कार्य सुचारु गर्ने उद्देश्यले असोज २६ गतेदेखि म्यानुअल पद्धतिमा काम अघि बढाइने भएकोले सबै पक्षको सहयोग आवश्यक छ।”















Discussion about this post