धरान–२० भालढुङ्गा सामुदायिक वनमा रहेको काँचो सखुवाको रुख अवैधरुपमा काट्नेलाइ सव डिभिजन वन कार्यालय विष्णुपादुकाले ४ जनालाई पक्राउ गरेको छ ।
सोहि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामांगले दिएको किटानी जाहेरीका आधारमा ४ जनालाई अनुसन्धानको लागि हिजो बिहिबार वन कार्यालयले पक्राउ गरेको हो ।
तामाङले वन ऐन २०७६ र प्रचलित कानून प्रतिकूल कसुर अपराध भएको हुँदा अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही तथा सजाय गर्न पनि माग गरेका थिए ।
सहायक वन अधिकृत एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले रुख काट्ने ४ जनालाई पक्राउ गरेको बताएका छन् ।
पक्राउ पर्नेहरुमा धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगर रहेका छन् ।
उनीहरुलाई धरानका उपमहानगरपालिकाका प्रमुख तिलक राईले ज्याला दिएर सालको रुख काट्न लगाएको आरोप लागेको छ । वन समुहका अध्यक्ष तामांगले ४ जनालाई किटानी जाहेरी दिएका थिए भने मेयर राईसँगै वन समुहका कोषाध्यक्ष भीम बस्नेतविरुद्ध पनि जाहेरी दिएका थिए ।
अनुसन्धान अधिकृत यादवले पक्राउ परेकाहरुलाई वयान लिने काम भइरहेको बताएका छन् ।















Discussion about this post