इटहरी : इटहरी उपमहानगरपालिका–१२ स्थित पूर्वाञ्चल मिल्क एण्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे)मा म्याद गुज्रिएका अखाद्य सामाग्री फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले छापा मार्दा अखाद्य वस्तु फेला पारेको हो ।
खासगरी केक, पाउरोटी, बिस्कुटलगायतका खाद्य पदार्थ उत्पादन गर्दै आएको उद्योगले म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकल प्रयोग गरी उत्पादन गरिरहेको सूचनाका आधारमा छापा मारिएको कार्यालयले जनाएको छ ।
अखाद्य सामग्री बिक्री गर्दै आएको खुलासा भएपछि उपभोक्ताबीच ‘ब्रान्डको भरोसा’ प्रति प्रश्न उठेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले खनारस्थित उद्योगमा गरेको अनुगमनमा ६ महिनाभन्दा बढी म्याद गुज्रिएका कच्चा पदार्थ, फ्लेभरिङ केमिकल, प्रिजर्भेटिभ र जङ्क–मटेरियलको ठूलो भण्डार भेटिएको हो ।
अनुगमन टोलीका प्रमुख, खाद्य निरीक्षक उज्वल कोइरालाले उत्पादन कक्षदेखि स्टोर र्याकसम्म सबै ठाउँमा म्याद गुज्रिएका पाउडर र केमिकल प्रयोग भइरहेको बताए ।
बरामद सबै पदार्थ तत्कालै उद्योग परिसरमै नष्ट गरिएको छ । उनका अनुसार फेला परेका धेरैजसो पदार्थ उद्योगको बेकरी उत्पादन कक्षमा राखिएको थियो ।
खासगरी विशेष समारोह, जन्मोत्सवलगायतमा धेरैजसो केक बिक्री हुँदै आएको थियो । तर, गुणस्तरहीन सामाग्री प्रयोग भएपछि उपभोक्ताले स्वास्थ्यमा समस्या आएकोसमेत बताउँदै आएका छन् ।
क्याफेका जिम्मेवार व्यक्तिहरूलाई खाद्य ऐन तथा नियमावली अनुसार कानुनी कारबाहीको दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
पूर्वाञ्चल क्याफे खनारसहित इटहरीको मुख्य चोक क्षेत्र, मोरङको पथरी, झापाको दमक, बिर्तामोडसम्म सञ्चालन हुँदै आएको छ ।
उद्योग दामोदर बिडारी र पूजा बिडारीको स्वामित्वमा रहेको छ।
विशेषज्ञहरूले बजारमा ब्रान्डको नाम सुन्नेबित्तिकै उपभोक्ता बिना जाँच भरोसा गर्नाले समस्या निम्तिरहेको बताएका छन् ।
खाद्य कार्यालयले उपभोक्तालाई म्याद अनिवार्य जाँच गर्न, गुणस्तरमा शंका लागेमा नजिकको कार्यालयमा उजुरी दिन आग्रह गरेको छ।













Discussion about this post