मोरङ : मोरङको सुन्दरहरैँचामा स्कुटरले साइकललाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
दुर्घटना शुक्रबार दिउँसो विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ मा भएको हो।
मोरङ ट्राफिक प्रहरीका अनुसार दिउँसो २ः४० बजेतिर को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएको थियो।
ठक्करपछि स्कुटर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१२ का ६७ वर्षीय बुद्धिमान श्रेष्ठ र पछाडि सवार उनकी पत्नी ६४ वर्षीया जीवनकुमारी श्रेष्ठ गम्भीर घाइते भएका थिए।
दुवैलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा जीवनकुमारीको अपरान्ह ४ः२५ बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक श्रेष्ठको उपचार जारी छ।
दुर्घटनामा संलग्न साइकलयात्री सुन्दरहरैँचा–१ का ३५ वर्षीय उमेश खत्री भने सकुशल रहेका छन्।
प्रहरीले स्कुटर, साइकल र साइकल यात्रीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।













Discussion about this post