मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरमा बिचौलियाविरुद्ध प्रशासन र प्रहरीले संयुक्त कारबाही गर्दा ३० जना पक्राउ परेका छन्।
सेवाग्राहीलाई काम छिटो गराइदिने नाममा रकम असुल्ने र सरकारी कर्मचारीको नाम जोडेर त्रास देखाउने गतिविधिमा संलग्न रहेको आरोपमा मालपोत कार्यालयबाट २० जना र जिल्ला प्रशासन कार्यालयबाट १० जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
पक्राउ परेकामध्ये दुई जना महिलालाई भने आवश्यक परेका बेला उपस्थित हुने सर्तमा छाडिएको छ। अन्यलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नाम जोडेर रकम मागिएको गुनासोपछि प्रशासन र प्रहरी ‘एक्सन’मा उत्रिएको जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘बिचौलिया बिना काम हुँदैन’ भन्ने भ्रम सिर्जना गरी उनीहरूले सेवाग्राहीबाट मनपरी रकम असुल्दै आएका थिए। कार्यालय परिसरमै फोटोकपीको ५० रुपैयाँसम्म लिने गरेको समेत पाइएको छ।
यसैबीच, मालपोत कार्यालय विराटनगरमा लेखापढी व्यवसायीहरू पक्राउ परेपछि तनावको स्थिति उत्पन्न भएको थियो।













Discussion about this post