सुनसरी : सुनसरीलाई केन्द्र बनाएर जनताका आवाज उठाउँदै आएका पत्रकार इकवाल अहमद अब प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने भएका छन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
इनरुवाको मुख्य चौकबाट सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्दै अहमदले पत्रकारितामार्फत जनताको समस्या बोल्ने काम लामो समय गरे पनि अब नीतिनिर्माणमै बसेर समाधान गर्ने समय आएको बताए।
‘आवाज उठाउने धेरै भए, काम गर्ने कम देखिए,’ उनले भने, ‘अब लेखेर मात्र होइन, गरेर देखाउने चरणमा पुगेको छु।’
दलबाट निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी नबन्दा निराशा बढेको र जेन–जी आन्दोलनपछि पनि दलहरू नसुध्रिएको निष्कर्षसहित आफू स्वतन्त्र उम्मेदवार बनेको उनले स्पष्ट पारे।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका अहमदले पत्रकारितामा रहँदा पनि कुनै पद, लाभ वा सत्ताको पक्ष नलिएको दाबी गरे।
इनरुवा नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा अहमद झण्डै तीन दशकयता पत्रकारितामा थिए भने विगत एक दशकदेखि इनरुवाबाट प्रकाशित ‘प्रतिक्षण’ दैनिक पत्रिका सञ्चालन गर्दै आएका छन्।
उनले सुनसरीसहित देशका विभिन्न स्थानका आम नागरिकका आवाजलाई निरन्तर उजागर गर्दै आएका थिए।














Discussion about this post