विराटनगर : सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी (ई–रिक्स) चालकलाई ‘सुरक्षित चालक’ पोशाक वितरण गरेको छ।
सुरक्षित चालक अभियानअन्तर्गत सोमवार विराटनगर महानगरपालिका–१ मा आयोजित कार्यक्रममा सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारी चालकलाई नम्बर अंकित ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट प्रदान गरिएको हो।
कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी ट्राफिक नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक हुने उल्लेख गर्दै चालक पोशाकले जिम्मेवारीबोध बढाई सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले ट्राफिक नियमको पालना, यात्रु सुरक्षालाई प्राथमिकता र मर्यादित व्यवहार गर्न चालकलाई आग्रह गरे।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले छोटो दूरीका यात्रामा प्रयोग हुने सिटी सफारी अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै चालक पोशाकको प्रयोगले अनुशासन र नियम पालना बढ्ने बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले विराटनगरमा सिटी सफारीलाई दर्ता तथा अभिलेखीकरण गरी चालकलाई नियमित ट्राफिक नियम र सुरक्षित सवारी सञ्चालनसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए।
कार्यक्रममा विराटनगर महानगरपालिकाले सिटी सफारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा प्रहरी, स्थानीय तह, सिटी सफारी चालक संघ तथा सरोकारवालाको सहभागिता रहेको थियो।














Discussion about this post