आचारसंहिता अनुगमन समितिमा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी ५१ उजुरी दर्ता भएको छ।
सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएकोमा ३० वटामा जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसमेतलाई स्पष्टीकरण सोधिएको हो।
दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
आयोगले जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको जनाएको छ। प्राप्त उजुरीमाथि छानबिन गरी उल्लङ्घन पुष्टि भए कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगको भनाइ छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय, जिल्ला तथा निर्वाचन कार्यालयस्तरमा आचारसंहिता अनुगमन संयन्त्र सक्रिय रहेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।
आयोगका अनुसार जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने काम तीव्र रूपमा भइरहेको छ।
जिल्लाबाटै स्पष्टीकरण मागी दोषी देखिएकालाई कानुनी कारबाही अघि बढाइएको पनि आयोगले जनाएको छ।













Discussion about this post