इटहरी : इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राममा रहेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले २९औँ अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको उपस्थिति रहेको थियो ।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख श्री सङ्गीताकुमारी चौधरी सहभागी थिइन् ।
कार्यक्रममा इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्ड क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रकाश खरेललगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, पूर्व शिक्षक तथा कर्मचारी एवम् अभिभावकहरूको उपस्थिति थियो ।
समारोहमा सहायक प्रधानाध्यापक प्रकाश तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए। सो अवसरमा प्रधानाध्यापक शशीकुमार उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरूका बारेमा जानकारी गराएका थिए।
प्रमुख अतिथि महतोले प्रदेश सरकारका तर्फबाट संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना व्यक्त गरे।
विशिष्ट अतिथि चौधरीले डिजिटल प्रविधिको माध्यमबाट दिइने शिक्षा बढी प्रभावकारी हुने धारणा राखेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रमुख खरेलले विद्यालयहरूले भौतिक, संवेगात्मक र सामाजिक सुरक्षणका लागि विद्यालयले काम गर्नुपर्ने उल्लेख गर्दै हर्मन माइनरले सो कार्य पूरा गरेको उल्लेख गरे।
कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आगन्तुकलाई धन्यवाद ज्ञापन गर्दै हर्मन माइनरमा सञ्चालनमा रहेको कम्प्युटर इन्जिनियरिङ अवसर र चुनौती दुवै रहेको उल्लेख गरेका छन्।
प्रदेश सरकारको सहयोगमा सञ्चालित प्राविधिक धार सञ्चालनका लागि मन्त्री महतोलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो।
समारोहमा नर्सरीदेखि कक्षा ११ सम्मका विद्यार्थीहरूले सामूहिक गीत, नृत्य, बाँसुरी वादन र प्रहसनजस्ता विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
दुई चरणमा विभाजित कार्यक्रमको औपचारिक सत्र शिक्षकद्वय पुष्प पराजुली र सृजना राउतले तथा अनौपचारिक सत्र विद्यार्थीहरू सविना खतिवडा र विपीन खड्काले सञ्चालन गरेका थिए ।













Discussion about this post