इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले दिएको विवादास्पद अभिव्यक्तिपछि इटहरीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
बिहीबार इटहरी जेसीजको आयोजनामा सम्पन्न सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारहरूबीचको ककस कार्यक्रमको अन्त्यतिर चौधरीले दिएको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित बनेका हुन्।
कार्यक्रममा बोल्दै चौधरीले कुनै पनि दलको स्पष्ट बहुमत नआए दलहरू मिलेर सरकार गठन गर्नुपर्ने उल्लेख गरे।
उनले रास्वपाले यस निर्वाचनमा दुईतिहाइ बहुमतको माग गरेको दाबी गर्दै भने, ‘रास्वपाले यो चुनावमा दुईतिहाई मागिरहेको छ । यदि तपाईँले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुईतिहाई पुर्याउन तपाईँ पनि लाग्नुहोस्। यदि तपाईँ लाग्नुहुन्न भने, एक वा एकभन्दा बढी अस्थिर सरकार चाहिराख्नुभएको छ भने तपाईँ देशविरोधी हो।’
उनको उक्त भनाइपछि सहभागीहरूले नाराबाजी सुरु गरेका थिए। स्थानीयवासी तथा सहभागीहरूले चौधरीको अभिव्यक्तिलाई आपत्तिजनक र अलोकतान्त्रिक भन्दै ‘राष्ट्रघाती’को आरोप लगाए।
नाराबाजीका क्रममा ‘घण्टी मुर्दावाद’का नारा समेत लगाइएपछि कार्यक्रम केही समय अवरुद्ध भएको थियो।
चौधरीको उक्त अभिव्यक्तिप्रति अन्य उम्मेदवारहरूले पनि आलोचना जनाएका छन्। उनीहरूले लोकतान्त्रिक प्रतिस्पर्धामा मतदातालाई देशविरोधी ठहर गर्ने भाषा अनुचित भएको टिप्पणी गरेका छन्।
खासगरी इटहरी जेसीजले सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारहरूबीच ककस कार्यक्रम आयोजना गरी उनीहरूलाई जनउत्तरदायी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्य राखेको थियो।
तर कार्यक्रमको उद्देश्यभन्दा बाहिर गएर आएको विवादास्पद अभिव्यक्तिले कार्यक्रमको समापन विवादमा धकेलिएको हो।
भिडिओ















Discussion about this post