इटहरी : इटहरी उपमहानगरपालिका–१० डुमोटस्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–००१ क ४५०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरी–७ बस्ने २८ वर्षीय अजयकुमार चौधरी गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराट मेडिकल कलेज, बूढीगंगा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल, टिपर तथा टिपर चालक इटहरी–७ बस्ने ३८ वर्षीय फुलवान चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको टिपरले ‘ओभरटेक’ गर्ने क्रममा ठक्कर दिएको खुलेको छ।
घटनास्थल ट्राफिक प्रहरी पोष्ट खनारबाट करिब ४ किलोमिटर उत्तर–पूर्वमा पर्छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post