ओखलढुंगा : प्रादेशिक अस्पताल निर्माणको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताले मतदान बहिस्कार गरेका छन्।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा रहेका ७०१ मतदातामध्ये कोही पनि मतदानमा सहभागी नभएपछि केन्द्र ‘नो भोट’ को अवस्थामै रहेको छ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार स्थानीयले मतदान नगरेको सूचना आएपछि उनी स्वयं मतदान केन्द्र पुगेका थिए। तर, त्यहाँ पुगेपछि मतदानका लागि कुनै पनि मतदाता उपस्थित नभएको पाइएको उनले बताए।
‘त्यहाँका मतदाता ‘नो भोट’ मा उत्रिएको पाइयो। यसबारे आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराइसकेको छु,’ कोइरालाले भने।
उनका अनुसार मतदान केन्द्रमा कर्मचारीहरू भने यथावत् बसेका छन्। “जनप्रतिनिधिहरूले मुचुल्का गरिदिनुभएको छ। कर्मचारीहरू बसिरहनुभएको छ। बेलुकासम्म कर्मचारीहरूले समानुपातिकतर्फ जति भोट खस्छ त्यही विवरणसहित मुचुल्का उठाएर पठाइन्छ,” उनले भने।
मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दालीका अनुसार प्रदेश सरकारले सो क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि काम सुरु नभएको भन्दै स्थानीयले विरोधस्वरूप मतदानमा भाग नलिने निर्णय गरेका हुन्।
‘अस्पताल निर्माणको प्रतिबद्धता पूरा नभएपछि स्थानीय आक्रोशित छन्। त्यसैको विरोधस्वरूप आज मतदान नै नगर्ने निर्णय गरिएको हो,’ रूम्दालीले भने।



















Discussion about this post