उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा बुधवार बिहान करिब १०ः४५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम गाईघाटबाट पश्चिमतर्फ कटारी जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहपोखरी गाउँपालिका–५ निवासी करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिएका छन्।
दुर्घटनामा संलग्न दुवै सवारी साधन नेपालटारस्थित अस्थायी प्रहरी पोस्टको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post