इटहरी : सुनसरीको इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयका एक शिक्षकमाथि कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेको छ।
आरोपित शिक्षक श्यामप्रसाद साहले चैत ४ गते विद्यालयको खेलमैदान सरसफाइ नगरेको भन्दै बालिका कौशल्या यादवलाई गालीगलौज गर्दै लाठीले कुटपिट गरेको र उनको पोशाकसमेत च्यातिएको पीडित पक्षको भनाइ छ।
घटनापछि प्रधानाध्यापक उमेशप्रसाद यादव र शिक्षक साहले कसैलाई नबताउन दबाब दिएको तथा अर्को सर्ट दिएर घर पठाएको पीडितका अभिभावक नागेश्वर यादवले आरोप लगाएका छन्। त्रासका कारण बालिका हाल विद्यालय जान नमानेको बताइएको छ।
अभिभावक तथा स्थानीयका अनुसार शिक्षक साहले अन्य छात्रामाथि पनि यस्तै व्यवहार दोहोर्याउने गरेको गुनासो छ। घटनालाई मिलाउन विद्यालय पक्षले प्रयास गरेको आरोपसमेत लागेको छ।
यता, प्रधानाध्यापक यादवले भने कुटपिट नभई काम गराउने क्रममा सर्ट च्यातिएको दाबी गरेका छन्।
स्थानीय अभिभावक र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
कानुनअनुसार बालबालिकामाथि कुनै पनि प्रकारको शारीरिक वा मानसिक सजाय दिन नपाइने व्यवस्था छ। नेपालको संविधान धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन २०७५ ले यस्ता कार्यलाई दण्डनीय बनाएको छ।












Discussion about this post