इटहरी : झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा प्रहरीले एकै दिन सञ्चालन गरेको अपरेसनमा ब्राउनसुगर तथा प्रतिबन्धित औषधीसहित नौ जनालाई पक्राउ गरेको छ।
चेकजाँच र निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार झापाको भद्रपुर क्षेत्रमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले सवारी साधन जाँचका क्रममा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ।
प्र–१–०१–०१२ प ४७१५ नम्बरको स्कुटरमा सवार मेचीनगर–१२ का सन्तोष लिम्बु, ओम नारायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो।
यस्तै, मे ४ प ८२७४ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर–९ का रेसल खड्का, सन्दीप राजवंशी र प्रविन राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीले दमक–८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान–११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको छ। सुनसरीको इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डीगढी–४ का पर्वत राईलाई ३० ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।
छुट्टाछुट्टै स्थानबाट एकै दिन भएको पक्राउले पूर्वी नेपालमा लागुऔषध कारोबार सञ्जालमा आधारित रहेको संकेत गरेको छ। सीमावर्ती क्षेत्र हुँदै भित्रिने र लागूऔषधको कारोबार हुने आशंका प्रहरीले गरेको छ।













Discussion about this post