उदयपुर : हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिर पठाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार परीक्षाको मर्यादा भंग गरेको अभियोगमा ती शिक्षकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बेलका नगरपालिका–९ स्थित जनता बेलका माध्यमिक विद्यालयमा अनिवार्य गणित विषयको परीक्षा चलिरहेका बेला निरीक्षणका क्रममा शंकास्पद गतिविधि देखिएपछि अनुसन्धान सुरु गरिएको थियो।
सो क्रममा बेलका–४ निवासी, जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीका गणित शिक्षक ४० वर्षीय सञ्जीव यादवलाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार उनले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर वाट्सएपमार्फत बाहिर पठाएको देखाएको प्रहरीले जनाएको छ। उक्त प्रश्नपत्रका आधारमा बाहिरबाट उत्तर तयार गराएर परीक्षार्थीसम्म पुर्याउने प्रयास गरिएको आशंका समेत गरिएको छ।
घटनामा प्रयोग गरिएको मोबाइल फोन बरामद गरिएको छ भने पक्राउ परेका शिक्षकविरुद्ध शिक्षा ऐनअन्तर्गत परीक्षाको मर्यादा भंगसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले एसईईजस्तो संवेदनशील परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।














Discussion about this post