इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २० का वडासदस्य तनुज गुरुङ (सुरेश)ले विकास निर्माणको काममा ढिलासुस्ती र ठेकेदारको लापरवाहीप्रति असन्तुष्टि जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै इटहरी उपमहानगरपालिका भन्दा ‘सी क्लासका ठेकेदार’ नै शक्तिशाली जस्तो देखिएको टिप्पणी गरेका छन्।
गुरुङका अनुसार तरहरास्थित धनपुरी–जागरण टोलमा वर्षौंअघि ठेक्का लागेको सडक अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
काम अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दा समस्यामा परिरहेका छन्। यसबारे आफूले उपमहानगरमा पटक–पटक कुरा उठाएपनि सुनुवाई नभएको उनको भनाइ छ ।
उनले नगरपालिकाको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘ठेक्का तोड्न नसक्ने, ठेकेदारलाई कारबाही गर्न नसक्ने, ब्ल्याकलिस्टमा राख्न नसक्ने र काम पनि अघि बढाउन नसक्ने अवस्थाले जनप्रतिनिधि र स्थानीयवासी दुवै निराश बनेका छन्।’
उनले लामो समयसम्म काम नहुँदा आफू दिक्क भएको समेत उल्लेख गर्दै पुरानो हासपोसा गाविस कै अवस्था राम्रो रहेको टिप्पणी गरेका छन्।
‘हरेक पटक कुरा उठाउँछु, तर जवाफ सधैं ‘हामी प्रक्रियामा छौं’ भन्ने आउँछ,’ गुरुङले भने, ‘५–६ वर्षसम्म प्रक्रिया नै चल्ने कस्तो व्यवस्था हो, बुझ्न गाह्रो भएको छ।’
स्थानीय तहमा विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, ठेकेदारको जिम्मेवारीहीनता र निगरानी कमजोर भएको उनले उदृत गरे। यसबारे सम्बन्धित निकाय भने मूकदर्शक बनेको छ।














Discussion about this post