इटहरी : इटहरीमा चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ। यो वर्षको संस्करण रात्रिकालीन हुने आयोजक राष्ट्रिय जागृति क्लब (राजा)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रतियोगितामा दुई विदेशीसहित ८ टोली सहभागी हुने जनाइएको छ।
कुल ८८ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा इटहरी उपमहानगरपालिकाले १८ लाख रुपैयाँ लगानी गरेको छ भने बाँकी रकम प्रायोजन, दाताहरू र टिकट बिक्रीबाट जुटाइनेछ।
फुटबल प्रतियोगिता खेलकुद कार्यक्रम मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने ठूलो अवसरका रूपमा देखिएको आयोजकको भनाइ छ। प्रतियोगिताले खेलप्रेमीसहित स्थानीय व्यवसायी, होटल, यातायात र साना उद्यमीलाई पनि प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
खेलको विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका पुरस्कारहरूले खेलाडीहरूलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ र ‘म्यान अफ द म्याच’लाई हरेक दिन १० हजार रुपैयाँ पुरस्कार दिइने खेल संयोजक अनुरोध थापाले जानकारी दिए।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत ३० गते नाइजेरियाको जस्ट जोन एफसी र युवा समाज सुन्दरहरैँचा बीच हुनेछ।
वैशाख १ गते मच्छिन्द्र एफसी, काठमाडौं र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ भने वैशाख ३ गते प्लानिङ ब्वाइज एफसी, काठमाडौं र भारतको युनाइटेड कुर्सेओङ एफसीबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको कार्कीले बताए।
पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल हुनेछ भने प्रतियोगिताको फाइनल वैशाख ७ गते हुनेछ।














Discussion about this post