इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ ।
इटहरी रंगशालामा सोमबार भएको रात्रिकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।
गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
रामवाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेण्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।
प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चिक्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए ।
गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय जागृति क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए ।
अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसंग उपाधि भिडन्त पक्का गरेको थियो ।
पहिलो सेमिफाइनलमा गछियाले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो ।
राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु भएको थियो ।















Discussion about this post