इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित कालाबन्जार–धरान सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान करिब ४ः३० बजेतिर प्र.१-०१-०१८ प ७८९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको सिमेन्ट कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ। ठक्करपछि चालक करिब ३४ फिट तल पैनीमा खसेका थिए।
दुर्घटनापछि ठूलो आवाज सुनेर स्थानीयवासीले प्रहरी चौकी भरौललाई खबर गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक जय ढकालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा मोटरसाइकल पैनीमा लडिरहेको अवस्थामा फेला परेको र चालक धरान–८ बस्ने करिब ३० वर्षीय मनिष बस्नेत रहेको लाइसेन्सबाट खुलेको प्रहरीले जनाएको छ।
बस्नेत पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण तीव्र गति रहेको अनुमान गरिएको छ।














Discussion about this post