धरान : धरानमा सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउँदै आएका विभिन्न सङ्घसंस्थाले बुधबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको नेतृत्व तथा बस्ती रक्षा आन्दोलन परिचालन समिति संयुक्तको अगुवाइमा निकालिएको जुलुस छाताचोकबाट सुरु भएको थियो । प्रदर्शनमा सहभागी सुकुम्बासी नागरिकहरूले मशाल बोकेर भानुचोकतर्फ अघि बढेका थिए ।
जुलुस सुरु हुनेबित्तिकै प्रहरीले केही स्थानमा हस्तक्षेप गर्दै मशाल निभाउने र प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोजेको सहभागीहरूले बताएका छन् । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो ।
प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास गराएको भन्दै त्यसको विरोधमा मशाल जुलुस निकालिएको बताएका छन् ।
उनीहरूले डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, विस्थापित सुकुम्बासीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत दुई सूत्रीय माग अघि सारेका छन् ।
अगुवाहरूका अनुसार सुकुम्बासी समुदायको अधिकार र बस्ती संरक्षणको मागसहित आम धरानबासीको सहभागितामा विरोध प्रदर्शन गरिएको हो ।















Discussion about this post