इटहरी : रामप्रसाद चौलागाईंले चार दशकभन्दा लामो राजनीतिक यात्रापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका छन्।
एमाले कोशी प्रदेश समितिका पूर्व सदस्यसमेत रहेका चौलागाईंले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको सार्वजनिक घोषणा गरेका हुन्।
इटहरीको राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिने चौलागाईंले २०३७ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा स्ववियु सभापतिमा निर्वाचित हुँदै उनले औपचारिक राजनीतिक यात्रा थालेका थिए। त्यसपछि २०४७ सालमा एमालेको सङ्गठित सदस्यता लिएर सक्रिय राजनीतिमा थप मजबुत उपस्थिति बनाएका थिए।
चौलागाईंले एमालेको तर्फबाट इटहरी खानेपानी उपभोक्ता संस्थाको नेतृत्व गर्दै १७ वर्षभन्दा बढी समय अध्यक्षको जिम्मेवारी सम्हाले।
इटहरी नगरपालिका हुँदै उपमहानगरपालिका बनेपछि भएका स्थानीय तह निर्वाचनहरूमा उनी पटक–पटक नगरप्रमुखको आकाङ्क्षी बने पनि पार्टीबाट टिकट पाउन सकेनन्।
पछिल्लो समय उनी एमालेका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव शेरधन राई निकट मानिन्थे। तर, इटहरीका पूर्व नगरप्रमुख द्वारिकालाल चौधरीसँगको सम्बन्ध भने क्रमशः तनावपूर्ण बन्दै गएको थियो।
विशेषगरी खानेपानी संस्थामा नेतृत्व गर्दा अनियमितता भएको आरोप सार्वजनिक रूपमा लागेपछि दुई नेताबीचको विवाद चर्किएको थियो।
स्थानीय कार्यकर्ताहरूका अनुसार खानेपानीसम्बन्धी विवादका क्रममा तत्कालीन नगर प्रमुख चौधरीले चौलागाईंको घर भत्काउने चेतावनीसमेत दिएका थिए।
खानेपानी संस्थामा भ्रष्टाचारको आरोप लागेपछि चौलागाईं थप विवादमा तानिएका थिए। त्यसपछि भएको निर्वाचनमा एमालेकै नेता यामकुमार सुब्बा अध्यक्षमा निर्वाचित भए।
संस्थाको विधान संशोधन गरी पूर्व अध्यक्षलाई पदेन सदस्य राख्ने व्यवस्था हटाइएपछि चौलागाईं संस्थाको निर्णय प्रक्रियाबाट क्रमशः अलग्गिँदै गए।
पछि उनलाई सल्लाहकार बनाउने निर्णय भए पनि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै उक्त जिम्मेवारी अस्वीकार गरेका थिए।
एमालेभित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएका चौलागाईं प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पनि पार्टीसँग टाढिँदै गएको चर्चा थियो।
हाल इटहरीको राजनीतिक वृत्तमा चौलागाईं श्रम संस्कृति पार्टीमा प्रवेश गर्न सक्ने चर्चा चलेपनि सत्यता नरहेको उनले बताए।















Discussion about this post