खोटाङ : खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा विवाह गरेको चार महिनामै एक महिलाको रहस्यमय मृत्यु भएपछि श्रीमान पक्राउ परेका छन्।
३३ वर्षीय राजकुमार राईलाई आफ्नी २८ वर्षीया श्रीमती शान्ति चर्मकारको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ९ गते बिहान राजकुमारले श्रीमती लडेर मृत्यु भएको भन्दै आफन्तलाई खबर गरेका थिए। तर घटनास्थल पुगेका स्थानीयले घरभित्र खाटमाथि शंकास्पद अवस्थामा शव फेला पारेपछि घटना रहस्यमय बनेको थियो।
स्थानीय जनप्रतिनिधिका अनुसार मृतकको शरीरका विभिन्न भागमा निलडाम र चोटपटकका स्पष्ट चिन्ह देखिएको थियो। शव गन्हाउन थालेको अवस्थाले मृत्यु केही दिनअघि नै भएको हुनसक्ने आशंका गरिएको छ।
घरमा श्रीमान–श्रीमती मात्रै बस्ने गरेका कारण घटनाप्रति थप शंका उत्पन्न भएको स्थानीयको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार कुटपिट गरी हत्या गरेको आरोपमा राजकुमारलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
कानुनी प्रक्रिया पूरा गरी मृतकको अन्त्येष्टि परिवारले गरिसकेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार शान्तिले चार महिनाअघि मात्रै दोस्रो विवाह गरेकी थिइन्। पहिलो श्रीमानतर्फ उनका दुई र पाँच वर्षका दुई छोरा रहेका छन्। उनी छोराछोरीसहित माइतीघरमा बस्दै आएकी थिइन्।
स्थानीयवासीले राजकुमार पटक–पटक विवाद र कुटपिटका घटनामा मुछिने गरेको आरोप लगाएका छन्।














Discussion about this post