विराटनगर : विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित बस्दै आएका एक युवकको छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुविण कार्कीलाई सुधार गृह, काठमाडौं पठाउने तयारी भइरहेको थियो।
सोही क्रममा उनले कोठा थुनेर आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
सुधार गृहका कर्मचारी, आफन्त तथा प्रहरीले कार्कीलाई सम्झाइबुझाइ गरिरहेका बेला उनले आफू सुत्ने बेडमुनि लुकाइराखेको धारिलो छुरा एक्कासी निकालेर प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट थप प्रहरी टोली खटिएको छ। घटनाबारे आवश्यक अनुसन्धान तथा समन्वयको कार्य भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post