मोरङ : नागरिकता सिफारिस प्रक्रियामाथि नै प्रश्न उठ्ने गरी मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।
अङ्गीकृत नेपाली नागरिकताका लागि झुटो विवरणलाई आधार बनाएर सिफारिस गरेको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान सुरु भएको हो।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–५ का वडाध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव रहेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङको पत्राचारपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रंगेली–५ निवासी मनुवा कुमार महतोले अधनुनिया महतोलाई आफ्नी आमा भएको दाबी गर्दै नागरिकता प्रयोजनका लागि विवरण पेश गरेका थिए।
सोही विवरणको सत्यतथ्य पर्याप्त रूपमा पुष्टि नगरी स्थानीय जनप्रतिनिधिले सर्जमिन सिफारिस गरेको आरोप लागेको छ।
घटनाले नागरिकता सिफारिस प्रक्रियामा जनप्रतिनिधिको जिम्मेवारी र जवाफदेहितामाथि बहस सिर्जना गरेको छ। नागरिकता जस्तो संवेदनशील विषयमा स्थानीय तहको सिफारिसलाई महत्वपूर्ण आधार मानिने भएकाले झुटो विवरणको आधारमा सिफारिस भएको आरोपले प्रशासनिक प्रणालीमाथि नै प्रश्न उठाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धानका क्रममा सिफारिसमा त्रुटि वा बदनियत देखिएको निष्कर्षसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कागजात प्रहरीलाई पठाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान जारी रहेको बताए। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय तहलाई नागरिकता सिफारिसको अधिकार दिइएपछि नागरिकताको पहुँच सहज बनेको भए पनि यस्ता घटनाले सिफारिस प्रक्रियाको विश्वसनीयता, अभिलेख प्रमाणीकरण र जनप्रतिनिधिको भूमिकामाथि थप निगरानी आवश्यक रहेको देखाएको छ।














Discussion about this post