विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नातकोत्तर तहको ‘मास्टर अफ फार्मेसी (एमफार्म)’ कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढाएको छ।
आइतबार विराटनगरमा आयोजित कार्यशालामा विश्वविद्यालय, औषधि उद्योग, नियामक निकाय र पाठ्यक्रम विज्ञहरूले अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपाली औषधि उद्योगको आवश्यकता अनुरूप व्यवहारिक पाठ्यक्रम तयार गर्न सुझाव दिएका हुन्।
विश्वविद्यालयका रजिष्ट्रार डा. किशोर अधिकारीले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर पाठ्यक्रमलाई अन्तिम रूप दिइने बताए।
फार्मेसी विभागका संयोजक शाहीविजय रिजालका अनुसार एमफार्म सञ्चालनका लागि आवश्यक प्रयोगशाला पूर्वाधार तयार भइसकेको छ र पाठ्यक्रम स्वीकृत भएपछि अध्ययन–अध्यापन सुरु गरिनेछ।
हाल मनमोहन प्राविधिक विश्वविद्यालयमा ब्याचलर अफ फार्मेसी (बीफार्म) कार्यक्रम सञ्चालनमा छ। एमफार्म सुरु भएपछि औषधि विज्ञानमा उच्च अध्ययनका लागि विद्यार्थीले स्वदेशमै अवसर पाउने विश्वविद्यालयको अपेक्षा छ।




















Discussion about this post