खोटाङ : लगातारको वर्षासँगै खोटाङमा आएको बाढीले एउटै दिन दुई जनाको ज्यान लिएको छ। छुट्टाछुट्टै स्थानमा खोला तर्ने क्रममा बगेका एक महिला र एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई घरबाट हिँडेपछि छाँगे खोलामा आएको बाढीले बगाएकी थिइन्। खोजीका क्रममा उनी राति मृत अवस्थामा फेला परेकी हुन्।
यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार खाइखुरे खहरे खोल्सा तर्ने क्रममा बाढीमा बगेका थिए।
प्रहरी र स्थानीयवासीले खोजी गर्दा उनको शव खोल्सीबाट करिब १०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार शान्ता राईको शव आइतबार जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ भने पर्शुराम परियारको शव सोमबार पोस्टमार्टम गरिनेछ।
निरन्तरको वर्षासँगै साना खोलानालामा समेत पानीको बहाव बढेकाले जिल्ला प्रशासन र प्रहरीले अत्यावश्यकबाहेक खोला तर्ने जोखिमपूर्ण प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

















Discussion about this post