मोरङ : मोरङको सुनवर्षी नगरपालिका–९ मा घरबाट हराएको चार घण्टाभित्रै चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन शुक्रबार अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवार र स्थानीयले खोजी गरिरहेका बेला साँझ करिब ७ः३० बजे घरदेखि करिब २०० मिटर पूर्व घाँसीबारीमा उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट लागेको अवस्था थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा यौनजन्य अपराधको संकेत भने नदेखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा बालिकालाई लक्षित गरेर हत्या गरी शव घटनास्थलमा फालिएको हुन सक्ने आशंका गरिएको छ। अनुसन्धानका क्रममा अभिभावकसँगको कुनै पुरानो रिसइबी वा अन्य व्यक्तिगत कारण पनि खुला राखिएको छ। यद्यपि हत्या किन र कसले गर्यो भन्ने विषय अझै पुष्टि भइसकेको छैन।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन र फरेन्सिक प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने प्रहरीको अपेक्षा छ।
हत्यामा संलग्न व्यक्तिको खोजी तथा घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।















Discussion about this post