इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डको घटनामा नेपाली कांग्रेसले तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।
सरकारले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
कांग्रेसले पाँच बुँदे माग अघि सार्दै तोकिएको समयभित्र कार्यान्वयन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।
साउन १० गते कप्तानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीबाट भएको गोली प्रहारमा तीन जनाको ज्यान गएको तथा त्यसपछिको आन्दोलनका क्रममा सिराहाको गोलबजारमा थप एक जनाको मृत्यु भएको घटनालाई गम्भीर मानवअधिकार र कानुनी प्रश्नका रूपमा उठाएको छ।
‘सरकार आफ्नै प्रतिबद्धताबाट पछि हट्यो’
कांग्रेसको मुख्य असन्तुष्टि गृहमन्त्रीको उपस्थितिमा पीडित परिवारसँग भएको सहमति कार्यान्वयन नहुनुलाई लिएर छ।
ज्ञापनपत्रमा सरकारले सार्वजनिक रूपमा गरेको प्रतिबद्धता कार्यान्वयन नगर्दा पीडित परिवारमा अन्यायको भावना बढेको र राज्यप्रतिको विश्वास कमजोर भएको उल्लेख गरिएको छ।
कांग्रेसले गोलीकाण्डको निष्पक्ष छानबिनका लागि न्यायिक समिति वा आयोग गठन गर्न, घाइतेहरूको अवस्था सार्वजनिक गरी सुविधा सम्पन्न अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न, मृतकका परिवार तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन, गृहमन्त्रीसँग भएको सहमति अक्षरशः कार्यान्वयन गर्न तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न माग गरेको छ।
जिल्ला सभापति केदार भण्डारीले सरकारलाई तीन दिनको समय दिइएको जानकारी दिँदै त्यस अवधिमा माग पूरा नभए कांग्रेस आन्दोलनमा जान बाध्य हुने बताए।
उनका अनुसार आन्दोलनको स्वरूप शान्तिपूर्ण भए पनि सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न दबाब दिने उद्देश्यले कार्यक्रम तय गरिनेछ।
‘हामीले कुनै राजनीतिक लाभका लागि होइन, पीडितलाई न्याय दिलाउन र सरकारले गरेको सहमति कार्यान्वयन गराउन आवाज उठाएका हौँ,’ भण्डारीले भने।
कांग्रेसले हिंसा र धार्मिक तथा जातीय तनाव फैलन नदिन आफूले संयमित भूमिका खेलेको दाबी गर्दै पीडितलाई न्याय नदिए सामाजिक असन्तुष्टि थप बढ्न सक्ने चेतावनी पनि दिएको छ।
ज्ञापनपत्रमा जिल्ला सभापति भण्डारीसहित क्षेत्रीय सभापति, महासमिति सदस्य, प्रदेश प्रतिनिधि तथा नगर सभापतिहरूले हस्ताक्षर गरेका छन्।
के हो घटना ?
गत साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। त्यस घटनाको विरोधमा भएको आन्दोलनका क्रममा सिराहाको गोलबजारमा पनि एक जनाको मृत्यु भएको थियो।
गोलीकाण्डपछि गृहमन्त्रीको उपस्थितिमा पीडित पक्षसँग भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै कांग्रेसले अब आन्दोलनको चेतावनी दिएको हो।













Discussion about this post