विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार असोज २४ गते झापाको कनकाई नगरपालिका–१ दुर्गापुरस्थित सहिद गेटअगाडि ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक ४५ वर्षीया अमृता थापा मगर घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सोही स्थान नजिकै राति ट्रक र विद्युतीय कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । कार चालक प्रहरीका एक जना सहायक निरीक्षकको अवस्था गम्भीर रहेको छ भने कारमा सवार अर्का प्रहरी कर्मचारी र ट्रकका दुई जना सहचालक घाइते भएका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडामा मध्यपहाडी लोकमार्गमा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट तल खस्दा चालक शक्ति राई गम्भीर घाइते भएका छन् । एम्बुलेन्समा सवार रामनन्द राई पनि घाइते भएका छन् । उक्त एम्बुलेन्स विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै थियो ।
मोरङको विराटनगर, पथरीशनिश्चरे, रतुवामाई, ग्रामथान र बुढीगंगासहित विभिन्न स्थानमा मोटरसाइकल, स्कुटर, सिटी सफारी, अटो, कार तथा अन्य सवारीसाधन दुर्घटनामा परेका छन् । विराटनगरको विश्वकर्मा चोकमा सिटी सफारीको ठक्करबाट तीन वर्षीय बालक आदित्य सहनी घाइते भएका छन् भने ग्रामथानमा मोटरसाइकलको ठक्करबाट करिब ७० वर्षीया नरमाया त्रिताल गम्भीर घाइते भएकी छन् ।
सुनसरीको धरान, दुहबी, इनरुवा, देवानगन्ज र भोक्राहा नरसिंह क्षेत्रमा पनि सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा साइकलयात्री, पैदलयात्री तथा मोटरसाइकल र सिटी सफारीमा सवार व्यक्तिहरू घाइते भएका छन् ।
उदयपुरको बेलका, कटारी तथा भोजपुरका विभिन्न स्थानमा भएका दुर्घटनामा पनि सर्वसाधारण घाइते भएका छन् । भोजपुरमा बोलेरो गाडीको ब्रेक फेल भएर दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् भने उदयपुरको कटारीमा सडकमा खेलिरहेका चार वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएको छ ।
झापाको बुद्धशान्ति र मेचीनगर तथा संखुवासभाको खाँदबारीमा भएका मोटरसाइकल दुर्घटनामा पनि मानिसहरू घाइते भएका छन् ।
प्रहरीका अनुसार कतिपय दुर्घटना तीव्र गति, अनावश्यक ओभरटेक, लेन अनुशासन उल्लङ्घन, चालकको लापरबाही तथा सडकमा ध्यान नदिँदा भएका छन् । केही दुर्घटनामा चालकको सवारी चालक अनुमतिपत्र र मादक पदार्थ सेवनसम्बन्धी विवरण खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा संलग्न अधिकांश सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । केही घटनामा ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post