धरान : लोक–लक्ष्मी स्मृति प्रतिष्ठान धरानले आउँदो मंसिर महिनासम्म मजदूर, विपन्न समुदाय र असहायहरुलाई निःशुल्क खाना खुवाउने भएको छ ।
कोरोना भाईरसका कारण मजदूर, विपन्न समुदाय र असहायहरु भोकभोकै नबसुन् भन्ने उद्देश्यले असोज १ गतेबाट लोक–लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउँदै आएको छ । धरान ८ स्थित लाङ्घाली सामुदायिक वनको भवन र धरान १ छाताचौक स्थित रहेको पुर्नस्थापना गृह केन्द्रमा गरी दैनिक १ सय १५ जनालाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
प्रतिष्ठानले निःशुल्क खाना खुवाउने अभियान दुई महिना थप भएको जानकारी दिएको छ ।
धरान उपमहानगरपालिकाको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहभागीतामा प्रतिष्ठानले निःशुल्क खाना खुवाउँदै आएको हो । धरानका समाजसेवी स्वर्गीय लक्ष्मी प्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोक–लक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो ।
प्रतिष्ठानले धरानमा विशेष गरेर शिक्षा क्षेत्र लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।



















Discussion about this post