इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका कोमल मुना टिप्दै गरेका हातहरू देखिन्छन। कतै किसान पात टिपिरहेका छन्, कतै कारखानामा हरियो पात प्रशोधन भइरहेको छ। केही पर पर्यटकहरू चियाबारीको हरियालीमा तस्वीर खिचिरहेका हुन्छन्। कुनै समय यी दृश्यहरू किसानको दैनिकी मात्र थिए। अहिले यही दृश्य पर्यटनको नयाँ उत्पादन बन्न थालेको छ। पूर्वी नेपालमा चिया अब केवल कृषि उपज होइन। यो पहाडको पहिचान हो, किसानको रोजगारी हो, स्थानीय अर्थतन्त्रको आधार हो र विस्तारै पर्यटनको आकर्षण पनि बन्दैछ। इलामले यसको बाटो धेरैअघि देखाइसकेको छ। धनकुटाले त्यसलाई पछ्याउँदैछ।
मोरङजस्ता तराईका जिल्लाले पहाडतर्फ जाने पर्यटन मार्गसँग चियालाई जोड्ने सम्भावना बोकेका छन। त्यसैले अब प्रश्न केवल यति मात्र होइन, पूर्वमा कति चिया उत्पादन हुन्छ ? प्रश्न अझ ठूलो छ । चियाको बोटदेखि पर्यटकको कपसम्म पुग्ने यात्राबाट पूर्वी नेपालले कति पर्यटन सिर्जना गर्न सक्छ ? इलाम, जहाँ चियाले जिल्लाको पहिचान बनायो नेपालको चियाको चर्चा गर्दा सबैभन्दा पहिले आउने नाम हो इलाम ।
नेपालमा चियाको व्यावसायिक इतिहाससँग जोडिएको इलाम अहिले पनि अर्थाेडक्स तथा स्पेसियालिटी चियाको प्रमुख केन्द्रका रूपमा परिचित छ । यहाँका चियाबारीले नेपालको चिया उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुका साथै जिल्लाको पर्यटन पहिचानसमेत निर्माण गरेका छन । तर इलामको चियाबारे एउटा तथ्य बुझ्न जरुरी छ, चिया बगान, चिया उद्योग÷फ्याक्ट्री, अग्र्यानिक सर्टिफाईड फ्याक्ट्री र पर्यटक आकर्षषण एउटै कुरा होइनन । उपलब्ध सरकारी तथ्यांक तथा अनुसन्धान स्रोतमा इलामका धेरै चिया उत्पादक तथा उद्योग सूचीकृत छन । जसमा अर्थाेडक्स, ग्रीन टी र अन्य स्पेसियालिटी चिया उत्पादन गर्ने उद्योगहरू छन । जस्तै कन्यामभेली चिया उद्योग, खिमा अग्र्यानिक चिया उद्योग, इलामेली चिया उत्पादक सहकारी, यात्री चिया, त्रिशक्ति चिया उद्योग,सुर्याेदय चिया उद्योग, रोङ चिया उद्योग, ओसिश चिया उद्योग, नेपाल ग्रीन एण्ड स्पेसियालिटी चिया, ला मण्डला स्पेसियालिटी चिया, जौबारी चिया स्टेट, लगायत विभिन्न उत्पादक तथा उद्योगहरू यसको उदाहरण हुन । त्यसैले इलाममा ३८ वटा चिया उद्योगहरु छन् । यही विविधता इलामको चिया अर्थतन्त्रको शक्ति हो।
अग्र्यानिक चियाको अर्को कथा इलामको अर्को महत्वपूर्ण पक्ष हो अग्र्यानिक स्पेसियालिटी चिया उपलब्ध सम्वन्धि र प्रमाणीकिकरण सम्वन्धि सुचिमा तीनजुरे चिया किसान सहकारी, नेपाल ग्रीन एण्ड स्पेसियालिटी चिया, ओएसिस् चिया उद्योग, जसबीरे चिया उद्योग, सन्दकपुर चिया प्रोसेसर, सिद्धदेबी चिया उद्योग, पाथिभरा अर्थाेडक्स चिया उद्योग, ब्रोदर्श अर्थाेडक्स चिया उद्योग, ग्रीनहिल अर्थाेडक्स चिया उद्योग, जौबारी चिया बगान, उच्च पहाडि चिया सहकारी, कञ्चनजंघा अग्र्यानिक चिया उद्योग, इलामेली चिया सहकारी, गोरखा चिया बगान, मिष्टभेली चिया उद्योग, हिमालय साग्रीला चिया उत्पादक लगायतका नाम देखिन्छन। तर यहाँ पनि सावधानी आवश्यक छ। कुनै उद्योग विगतमा अग्र्यानिक सर्टिफाईड भएको हुन सक्छ; त्यसको प्रमाणीकरण अहिले पनि सक्रिय छ कि छैन भन्ने छुट्टै जाँच आवश्यक हुन्छ । त्यसैले सन २०२६ मा इलाममा यति नै वटा प्रमाणिक अग्र्यानिक चिया उद्योग छन् भनेर अद्यावधिक प्रमाणीकरणबिना संख्या तोक्नु उचित हुँदैन। तर एउटा कुरा स्पष्ट छ- इलाममा अग्र्यानिक स्पेसियालिटीको आधार बलियो छ। अर्थाेडक्स चिया नाम होइन, उत्पादनको विशेष विधि अर्थाेडक्स चिया कुनै छुट्टै चियाको बोट होइन। यो चिया प्रशोधन गर्ने विशेष÷परम्परागत विधि हो।
चियाका पातलाई मिच्ने, रोल गर्ने, oxidation गराउने र सुकाउने प्रक्रियाबाट विभिन्न प्रकारका अर्थाेडक्स चिया तयार हुन्छन। यसमा कालो अर्थाेडक्स, हरियो अर्थाेडक्स, उलङ चिया (कालो र हरियो चिया बीचको आंशिक रुपमा अक्सिडाईज गरिएको चिया), हातेपत्ती तथा विभिन्न प्रकारका टिप्स र स्पेसियालिटी पर्छन। नेपालमा यस्तो चिया मुख्यतः इलाम, पाँचथर, धनकुटा र तेह्रथुमजस्ता पहाडी जिल्लामा उत्पादन हुन्छ। यही विशेषता पर्यटनसँग जोड्न सकिन्छ । पर्यटकलाई केवल चिया बगान हेर्न होइन, चिया कसरी जन्मिन्छ र कसरी कपसम्म पुग्छ भन्ने अनुभव दिन सकिन्छ ।
कन्याम चियाबारीबाट पर्यटन गन्तव्यसम्म
यदि पूर्वी नेपालमा चिया पर्यटनको एउटा सबैभन्दा चर्चित नाम लिनुपर्छ भने त्यो हो कन्याम । कन्यामको आकर्षण केवल चिया मात्र होइन । हरियाली चियाबारी, पहाडी वातावरण, हिमाली दृश्य,फोटोग्राफी, पिकनिक, हाईकिङ, घोडसवार, होमस्टे, स्थानीय संस्कृति र चियाको स्वाद, यी सबैले कन्यामलाई पर्यटन गन्तव्य बनाएका छन । नेपाल पर्यटन बोर्डले पनि कन्याम र फिक्कल क्षेत्रका ठूला चिया बगानलाई पिकनिक, साईटसिन र फोटोग्राफीका लागि महत्वपूर्ण आकर्षणका रूपमा प्रस्तुत गरेको छ। यहाँ एउटा महत्वपूर्ण परिवर्तन भएको छ। पहिले पर्यटक चियाबारी हेर्न आउँथे। अब उनीहरू चियाबारीमा अनुभव लिन चाहन्छन्। यही परिवर्तनलाई व्यवस्थित गर्न सकियो भने कन्याम पूर्वी नेपालको सबैभन्दा प्रभावशाली टि टुरिजम हब बन्न सक्छ।
इलामपछि पूर्वी नेपालको चिया पर्यटनको अर्को महत्वपूर्ण अध्याय धनकुटाबाट सुरु हुन्छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा धनकुटामा चारवटा अन्तर्गत २ सय३६ हेक्टर क्षेत्र र ५ सय ३६ जना साना किसानको २ सय ५३ हेक्टर चिया क्षेत्र थियो। कुल चिया क्षेत्र ३३ हेक्टर पुगेको थियो।
पर्यटकको संख्या कति? चिया पर्यटनको चर्चा गर्दा एउटा प्रश्न अनिवार्य रूपमा आउँछ । कन्याममा वर्षमा कति पर्यटक आउँछन् ? भन्ने प्रश्नमा यकिन गरेर यति नै भनेर तोकेर दिन सक्ने तथ्यांक सरकारी निकाय वा कुनै संघ संगठनसँग छैन । तथापि हाल उपलब्ध सरकारी पर्यटन तथ्यांकले कन्याम चिया बगान वा कुनै एउटा चिया उद्योगमा मात्र जाने पर्यटकको छुट्टै वार्षिक संख्या नियमित रूपमा प्रकाशित गरेको देखिँदैन । तर अध्ययनहरूले कन्याम लगायत इलामका चिया गन्तब्यमा ठूलो संख्यामा पर्यटक आउने गरेको देखाउँछन । यसको अर्थ समस्या पर्यटकको अभाव मात्र होइन । समस्या पर्यटकबाट स्थानीय अर्थतन्त्रमा कति योगदान भइरहेको छ भन्ने हो । पर्यटक आएर केही तस्वीर खिचेर फर्कन्छ भने त्यसको आर्थिक लाभ सीमित हुन्छ । तर उसले चिया परीक्षण गर्छ, स्थानीय खाना खान्छ, होमस्टेमा बस्छ, कारखाना भ्रमण गर्छ, चिया किन्छ र स्थानीय गाइड लिन्छ भने एउटै पर्यटकले धेरै क्षेत्रमा आर्थिक योगदान गर्न सक्छ । यही हो चिया पर्यटनको वास्तविक अर्थ ।
धनकुटा चियाको दोस्रो ठूलो सम्भावना
इलामपछि पूर्वी नेपालको चिया पर्यटनको अर्को महत्वपूर्ण अध्याय धनकुटाबाट सुरु हुन्छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा धनकुटामा चारवटा अन्तर्गत २ सय३६ हेक्टर क्षेत्र र ५ सय ३६ जना साना किसानको २ सय ५३ हेक्टर चिया क्षेत्र थियो। कुल चिया क्षेत्र ३३ हेक्टर पुगेको थियो। त्यस वर्ष धनकुटाले कुल ४० हजार ६ सय किलो चिया उत्पादन गरेको तथ्यांक छ । त्यसमध्ये अर्थोडक्स् ३५हजार किलो, ग्रीन टी ५हजार किलो अन्य चिया ६सय किलो अर्थात् धनकुटाको चिया उत्पादनमा अर्थाेडक्सको हिस्सा अत्यन्त महत्त्वपूर्ण छ । यसले धनकुटालाई ठूलो मात्रामा चिया उत्पादन गर्ने जिल्ला मात्र होइन, उच्च उत्पादितको पर्यटनसँग जोड्न सकिने क्षेत्र बनाउँछ ।
हिले–गुराँसे चियाबाट पर्यटनको ढोका
धनकुटामा चिया पर्यटनको सबैभन्दा बलियो सम्भावना हिले–गुराँसे क्षेत्रमा देखिन्छ। हिले आफैंमा स्थापित पहाडी पर्यटकीय गन्तव्य हो। भेडेटार, धनकुटा, हिले, गुराँसे र पाखिबासलाई जोड्दा यहाँ प्रकृति र चियाको सुन्दर संयोजन बनाउन सकिन्छ । गुराँसे टि स्टेट यसको महत्त्वपूर्ण उदाहरण हाे। गुराँसेमा वृक्षरोपण सन् १९९५ मा सुरु भएको र उद्योग सन् १९९८ मा स्थापना भएको पाइन्छ । करिब ३५ सय देखि ७२ सय फिट उचाइमा रहेको यो क्षेत्र उच्च पहाडी क्षेत्रमा उत्पादित अर्थाेडक्स चियासँग जोडिएको छ । अब कल्पना गरौँ, धरानबाट भेडेटार हुँदै हिले पुगेको पर्यटक त्यहाँबाट गुराँसेको चियाबारी, चियाबारीमा पदमार्ग । किसानसँग चिया टिप्ने अनुभव, कारखानामा प्रशोधन, हेर्ने अवसर, चिया परीक्षण, स्थानीय खाना। होमस्टे। बिहान सूर्योदय । र हातमा आफ्नै अनुभवसँग जोडिएको चियाको प्याकेट। यस्तो उत्पादन धनकुटाले बेच्न सक्छ ।
मोरङ चिया पर्यटनको प्रवेशद्वार
मोरङको चिया क्षेत्र धनकुटा वा इलामको तुलनामा निकै सानो छ । आर्थिक वर्ष २०७÷७९ को उपलब्ध सरकारी तथ्यांकमा मोरङमा करिब ३२ हेक्टर चिया क्षेत्र र ५९३ किलो उत्पादन देखिन्छ । त्यसमा अर्थाेडक्स १,११० किलो हरियो चिया ३४५० किलो र अन्य १४२३ किलो उत्पादन भएको थियो । यसबाट मोरङलाई ठूलो चिया उत्पादन केन्द्र भन्न मिल्दैन, तर पर्यटनको दृष्टिले मोरङको भूमिका फरक हुन सक्छ । मोरङ तराई हो, धनकुटा पहाड हो र इलाम अझ पूर्वको चिया पहाड हो । विराटनगर–इटहरी हुँदै पूर्वी पहाडतर्फ जाने पर्यटकलाई चिया पर्यटनको सर्किटमा जोड्न सकिन्छ । यसरी मोरङले ठूलो चिया बगानको कारणले होइन, पूर्वी चिया पर्यटनको प्रवेशद्वारका रूपमा भूमिका खेल्न सक्छ ।
किसानको आम्दानी कति बढ्यो? यो सबैभन्दा महत्वपूर्ण प्रश्न हाे। पर्यटक आएर चिया बगानमा तस्वीर खिचेर मात्र फर्किए भने किसानले पर्यटनबाट प्रत्यक्ष लाभ पाउँदैनन । तर किसानले आफ्नै चिया बिक्री गर्न पाए, चिया परीक्षण सञ्चालन गरे, स्थानीय खाना बनाए, होमस्टे चलाए, गाइड बने वा चिया टिप्ने अनुभवबाट शुल्क लिन पाए भने पर्यटनको पैसा गाउँमै रहन्छ।
बगान होइन, ‘अनुभव’ बेच्ने समय अब पूर्वी नेपालले एउटा प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको छ— के हामी चिया बेचिरहेका छौँ कि चियासँग जोडिएको अनुभव पनि बेचिरहेका छौँ? विश्व पर्यटन बजारमा मानिसहरू वस्तु मात्र किन्न खोज्दैनन, उनीहरू अनुभव खोज्छन । पूर्वमा त्यो अनुभव तयार गर्न पर्याप्त आधार छ । चिया टिप्ने अनुभव, चिया प्रशोधन हेर्ने अनुभव, चिया परीक्षण, स्थानीय खाना, होमस्टे, पहाडी पदयात्रा, गुराँसको जंगल, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति। किसानसँग संवाद। यी सबैलाई जोडेर “चिया अनुभव कार्यक्रम” बनाउन सकिन्छ ।
एउटा विशाल ‘Tea Tourism Circuit’ पूर्वी नेपालको चिया पर्यटनलाई एउटा जिल्लामा सीमित राख्नुपर्ने आवश्यकता छैन। एउटा सम्भावित सर्किट यस्तो हुन सक्छ— बिर्तामोड → कन्याम → फिक्कल → सूर्योदय → अन्तु → जसबिरे → इलाम बजार → इलाम चिया क्षेत्र → माईपोखरी त्यसपछि अर्को शाखा— धरान → भेडेटार → धनकुटा → हिले → गुराँसे → पाख्रिबास → तेह्रथुम → वसन्तपुर यी दुई क्षेत्रलाई पर्यटन र यातायात सञ्जालले जोड्न सकियो भने पूर्वी नेपालमा एउटा व्यापक चिया पर्यटन क्षेत्र निर्माण गर्न सकिन्छ । तर यसको अर्थ हरेक चिया बगानलाई पर्यटकका लागि खुला गर्नु होइन । उत्पादन, किसानको काम र पर्यटनबीच सन्तुलन आवश्यक हुन्छ। किसानको हातमा पुग्छ पर्यटनको पैसा? चिया पर्यटन सफल भएको प्रमाण पर्यटकको संख्या मात्र होइन।
किसानको आम्दानी कति बढ्यो? यो सबैभन्दा महत्वपूर्ण प्रश्न हाे। पर्यटक आएर चिया बगानमा तस्वीर खिचेर मात्र फर्किए भने किसानले पर्यटनबाट प्रत्यक्ष लाभ पाउँदैनन । तर किसानले आफ्नै चिया बिक्री गर्न पाए, चिया परीक्षण सञ्चालन गरे, स्थानीय खाना बनाए, होमस्टे चलाए, गाइड बने वा चिया टिप्ने अनुभवबाट शुल्क लिन पाए भने पर्यटनको पैसा गाउँमै रहन्छ। यसले चियालाई केवल कृषि उत्पादनबाट स्थानीय पर्यटन अर्थतन्त्रको आधारमा बदल्न सक्छ। चुनौती पनि कम छैन चिया पर्यटनको सम्भावना ठूलो भए पनि चुनौतीहरू पनि छन्। धेरै बगानमा पर्यटकका लागि व्यवस्थित सूचना केन्द्र छैन । कारखाना भ्रमणको स्पष्ट व्यवस्था छैन । चिया स्वाद एवं जानकारी केन्द्रको अभाव छ।
स्थानीय गाइड तथा प्रशिक्षित जनशक्ति पर्याप्त छैन। पर्यटकका लागि पैदल यात्रा मार्ग, सरसफाई तथा स्वच्छता र संकेतपाटी तथा सुरक्षा व्यवस्थापन पनि सुधार गर्नुपर्ने अवस्था छ। सबैभन्दा ठूलो चुनौती भनेको चिया उत्पादन र पर्यटनबीच संस्थागत सम्बन्ध कमजोर हुनु हो। कृषि कार्यालयले चिया हेर्ने, पर्यटन कार्यालयले पर्यटक हेर्ने र स्थानीय सरकारले अर्को क्षेत्र हेर्ने हो भने समग्र चिया पर्यटन चिया पर्यटनका आकर्षण तथा गतिबिधिहरु बन्न कठिन हुन्छ । अब चिया किसान, उद्योगी, स्थानीय सरकार र पर्यटन व्यवसायी एउटै योजनामा जोडिनुपर्छ। इलामले बाटो देखायो, धनकुटाले अवसर खोज्दैछ इलामले चियालाई आफ्नो पहिचान बनाइसकेको छ। कन्यामले चियाबारीलाई दृश्यावलोकन तथा फोटो खिच्नेको गन्तव्य बनाइसकेको छ । अब धनकुटाले त्यसभन्दा अगाडि बढेर चिया उत्पादनसँग अनुभवात्मक पर्यटन जोड्न सक्छ । मोरङले तराईबाट पहाडतर्फ जाने पर्यटकलाई यस सर्किटमा प्रवेश गराउन सक्छ । त्यसपछि पूर्वी नेपालमा चिया एउटा जिल्लाको उत्पादन मात्र रहने छैन। यो क्षेत्रीय पर्यटन उत्पादन बन्न सक्छ ।
चियाको कपमा कति पर्यटन ?
पूर्वी नेपालका पहाडमा चियाका हजारौँ बोट छन । किसानका हातमा वर्षौँको अनुभव छ। इलामसँग इतिहास छ । कन्यामसँग पर्यटक छन। धनकुटासँग हिले र गुराँसेजस्ता सम्भावित पर्यटन केन्द्र छन। मोरङसँग तराईको पहुँच र यातायात सञ्जाल छ। अर्थात् आधार तयार छ । अब चाहिएको छ योजनाबद्ध सोच । पर्यटकलाई चिया बगान देखाउने होइन, चियाको कथा सुनाउने। कारखानाको ढोका बन्द राख्ने होइन, सुरक्षित र व्यवस्थित रूपमा अनुभव गराउने । किसानको उत्पादनलाई केवल बजारमा बेच्ने होइन, पर्यटकको अनुभवसँग जोड्ने। स्थानीय युवालाई बाहिर रोजगारी खोज्न पठाउने मात्र होइन, आफ्नै गाउँमा लोकल गाईड, होमस्टे अपरेटर चिया स्वाद परीक्षक, चिया व्यवसायी र पर्यटनकर्मी बनाउने । त्यसपछि चियाको एउटा पातले धेरै अर्थ बोकेको हुनेछ । त्यो पात किसानको आम्दानी हुनेछ । उद्योगको कच्चा पदार्थ हुनेछ । नेपालको निर्यात उत्पादन हुनेछ । पर्यटकका लागि पूर्वी नेपालको स्मृति हुनेछ। इलामको हरियो पहाडदेखि धनकुटाको हिले–गुराँसेसम्म र तराईको मोरङदेखि पूर्वी पहाडका चिया बगानसम्म अब नयाँ पर्यटन कथा लेख्ने समय आएको छ । किनकि, पूर्वमा चिया केवल पिउने वस्तु होइन, हेर्ने, चाख्ने, बुझ्ने, अनुभव गर्ने र संंसारलाई सुनाउने पर्यटन कथा हो । त्यो कथा सुरु हुन्छ, एउटा सानो चियाको मुना टिप्ने किसानको हातबाट अन्तत पुग्छ पर्यटकको हातमा रहेको तातो चियाको कपसम्म ।
(उप्रेती जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक, अनुसन्धाता तथा टाकुराका सम्पादकसमेत हुन् ।)












Discussion about this post