तरहरा : इटहरी २० तरहरामा घरको छतबाट लडेर सूर्य राइको मृत्यु भएको छ ।
“सूर्य सर” नामले परिचीत राईको शनिबार दिउँसो ४ बजेर १० मिनेटमा घरको छतबाट लडेर मृत्यु भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले पुष्टि गरे ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख समेत रहेका ६६ वर्षीय राईले घरभित्र पानी पसेपछि छतमा गएर पाइप लिकेज भएको ठाउँमा हेर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको श्रेष्ठले बताए । धेरै विद्यार्थीहरुका गुरु, स्थानीय युवाहरुका मार्गनिर्देशक राई तरहराका बुद्धिजीवी व्यक्ति हुन् ।
नागरिक समाज इटहरीका सल्लाहकार समेत रहेका उनको अकल्पनीय निधनमा सिंगो तरहरा नै शोकमा डुबेको श्रेष्ठले बताए ।
‘घरको छतमा रहेको पाइपबाट पानी लिकेज भएको भनेर हेर्न जाने क्रममा चिप्लिएर लडेको प्रारम्भिक अनुमान गरिएको छ,’ श्रेष्ठले टाकुरासँग भने, ‘अकल्पनीय घटनाले तरहराबासी नै शोकमा डुबेका छौँ ।’
छतबाट लडेर उनको टाउकोको पछाडिको भाग बजारिएको घटनास्थलमा रहेका एक प्रहरीले जानकारी दिए ।
अहिले इलाका प्रहरी कार्यालय इटहरीले मुचुल्का उठाइसकेको छ । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवको रुपमा रहेका थिए । उनी हाल यायोक्खा सुनसरीको सल्लाहकार समेत थिए ।
उनको एक श्रीमती, दुई छोराहरु रहेका छन् ।
भिडियो














Discussion about this post