इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का गोपाल भन्ने कुलबहादुर कार्कीको मङ्गलबार बिहान निधन भएको हो।
कार्की मङ्गलबार बिहान हिरासतमा अचानक बेहोस भएका थिए। बिहान करिब ४ः४५ बजे दाँत किटेर बेहोस भएपछि उनलाई तत्काल इटहरीस्थित वेदान्त अस्पताल लगिएको थियो।
वेदान्त अस्पतालले थप उपचारका लागि रेफर गरेपछि कार्कीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। धरानमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए।
कार्की गत भदौ ५ गतेदेखि बाल यौन दुरुपयोग मुद्दामा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका थिए। प्रहरीले उनको मृत्युको कारणबारे थप विवरण सार्वजनिक गरेको छैन। उनीमाथि बाल यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको थियो।












Discussion about this post