तरहरा : तरहरामा जेसीज सप्ताह सुरु भएको छ । तरहरा जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह बुधबार (आज) बाट सुरु भएको हो ।
पहिलोदिन साइक्लिङको कार्यक्रम गर्दै सप्ताह सुरु भएको तरहरा जेसीजका अध्यक्ष सन्तोष रेग्मीले बताए । उनका अनुसार कोभिडले पर्यटन व्यवसायलाई पारेको प्रभाव निर्मूल पार्नका लागि पनि साइक्लिङबाट सप्ताह सुरु गरिएको हो ।
‘कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई निर्मूल पार्नका लागि साइक्लिङबाट सप्ताह सुरु गरेका हौँ,’ उनले भने, ‘विभिन्न कार्यक्रमको आयोजना गर्दै १७ गते समापन गरिनेछ ।’
कार्यक्रम संयोजक प्रेम चौधरीका अनुसार इटहरी २ र ३ मा पर्ने पर्यटकीय क्षेत्र तालतलैयादेखि रामधुनी ७ मा पर्ने रास तालमा पुगेर साइक्लिङ कार्यक्रमको समापन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जेसीजमा युवाहरूको उत्साहजनक सहभागिता हुनु सकारात्मक रहेको बताए ।
सप्ताहका मुल संयोजक ओम खड्काका अनुसार कात्तिक ११ गते बिहीबार तरहराको चारकोसेमा कोभिड स्मृति पार्क उद्घाटनको कार्यक्रम रहेको छ ।
यस्तै, शनिबार बिहीबारेमा रक्तदान, आइतबार स्लो बाइक रेस प्रतियोगिता, सोमबार मैत्रीपूर्ण फुटसल र बुधबार सप्ताह समापन तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने खड्काले बताए ।















Discussion about this post