इटहरी : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।
मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि आइतबार उनले प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ।
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा एमालेको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।












Discussion about this post