- कवि सिद्धान्त गौतम कलमकार
जब आकाशमा मेघगर्जन हुन्छ,
खुल्छन् स्वर्गका ढोकाहरू एका एक
र निस्किन्छन्
अल्लाह, जिजस, र तेत्तीस-कोटी देवता
अन्तिम युद्धको रणभूमिमा
देवताका हातहरू लम्कन्छन्
गीता, कुरान, बाइबल, र वेदमाथि
मन्त्र,आयात गाँस्पेल शस्त्र हुन्छ
धर्मका वाणीहरू तरवार र तीरमा परिणत हुन्छन् एकाएक
प्रत्येक हतियारले इतिहासमा
रगतले रङ्गिएका पानाहरूलाई झक्झक्याउँछ।
युद्धमा साक्षी छन् धर्मका नाममा भएका नरसंहारहरू
क्रुसेडका जिहादका अग्निपथहरू,
कुरुक्षेत्रका रगतले लतपत ती मैदानहरू
सत्यको खोजीमा जलेका ग्यालिलियोका सपना
स्वर्ग जाने आशामा जलाइएका जादूगर्नीहरू
शिवको त्रिनेत्र,
येशूको क्रस,
मोहम्मदको चन्द्र-ताराले
स्वर्ग र पृथ्वीलाई रक्तपातमा डुबाउँछन्।
प्रकृति चिच्याउँछिन्,
के तिमीहरू सत्यका रक्षक हौ…?
या केवल विनाशका साक्षी…?
धरती थर्किन्छ ।
मानबका आँसुहरू सागरमा झर्छन्,
एउटा जलप्रलय उठ्छ
गङ्गा राती हुन्छिन्,
नाइल, टाइग्रिस, र युफ्रेटिसमा
इतिहासका आँसुहरू बग्छन्
देवताहरूको स्वर युद्धमा हराउँछ
तिनले सम्झिन्छन्,
क्रुसेडको युद्ध,
मध्यकालीन इन्क्विजिसन,
कुरुक्षेत्रका भीमकाय हातहतियार,
अमेरिकी आदिवासीहरूको नरसंहार,
यही नै थियो त धर्मको सन्देश…?
स्वयम् ईश्वर आफ्नो सिंहासनमा
प्रश्न गर्छन्,
के म सिर्जनाकर्ता हुँ…?
या विनाशका आधार…?
तर उत्तर दिने कोही हुँदैन
मानव मौन रहन्छ,
तर मौनता भित्रको शक्ति
देवताहरूको गर्वलाई चकनाचुर बनाउँछ
देवताहरूको योद्धाको रूपमा
प्रकृति घाइते हुन्छिन्,
तर मानिसहरूको मन
प्रकाशले भरिन्छ।
जब अन्तिम त्रिशूल धूलोमा खस्छ,
जब अन्तिम ग्रन्थ जल्छ,
र जब अन्तिम मन्दिर ढल्छ,
त उभिन्छ मानव र मानवता
अब कुनै धर्म छैन मानिस भन्छ,
केवल मानवता छ
देवताहरू आफ्नै पतनको साक्षी बन्छन्
स्वर्गका ढोकाहरू एका एक बन्द हुन्छन्,
तर पृथ्वीमा एक नयाँ धर्म जन्मिन्छ
मानव धर्म,
जहाँ कुनै मूर्ति छैन,
कुनै पवित्र पुस्तक छैन
केवल सत्य छ
केवल मानव छ
र छ मानवता ।













Discussion about this post