इटहरी (डेस्क) : प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र धनकुटामा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर आइतबार राति तीन जनाको मृत्यु भएको हो ।
झापाको अर्जुनधारा नगरपालिका ९ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ९ प १७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका अर्जुनधारा ९ का ५८ राजेन्द्र थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ ७ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका २ का २४ वर्षीय अर्जुन तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका ३ स्थित दुर्गा चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १४ प ९४५८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको छ ।
राति ११ः४० बजेतिर भएको दुर्घटनामा परेर स्कुटर चालक सप्तरी घर भई विराटनगर ३ मा डेरा गरेर बस्ने ३६ वर्षीय हरि भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि नोबेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका ६ फलाटेमा को २ त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको छ । साँझ ७ः५० बजेतिर भएको दुर्घटनामा परेर ट्याक्टरमा सवार पाख्रीबास ६ का ५२ वर्षीय बमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा राति ८ः५० मृत्यु भएको हो । दुर्घटनापछि फरार बनेका ट्याक्टर चालक सरोज परियारको खोजी प्रहरीले तीव्र पारेको छ ।
तीनवटै घटनामा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post