धरान : धरानस्थित बराह बचत सहकारीका पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १५ गते बराहपीडित संघर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्ने क्रममा मेयर हर्क साम्पाङको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए ।
मेयरको कार्यकक्ष तोडफोडविरुद्धमा मेयर साम्पाङले बराहपीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोलाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरीअनुसार साउन १८ गते सोही कसुरमा धरान १६ बाट प्रदीप बास्तोलालाई धरान प्रहरीले पक्राउ गरेको थियो ।
फरार भएका नेपाली आइतबार (आज) बिहान पौने ११ बजे धरानको भानुचौकबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post